मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा राख्ने निर्णय |
काठमाडौं । किसानसमक्ष मल नपुर्याउने ठेकेदार लाई सरकारले कारबाही गर्ने भएकोे छ । गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्याउने दुईवटा ठेकदार कम्पनीको ५∕५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।
आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको स्रोतले बताएको छ ।
संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बतायो ।
मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्काे होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।
मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बताएको छ ।


