ई-फार्मले गाउँका उत्पादन खरिद गरी राजधानीबासीलाई अनलाइन डेलिभरी गर्ने |
काठमाडौं । ई-फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरी राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ई-फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए ।
ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरी ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको उनले जानकारी दिए ।
इ-फार्ममा पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घि, कास्कीको अनतिको चामल र जेठोबुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरकोपिठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमिको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराको बिक्रि गर्दै आएको छ ।
त्यस्तै – फार्मले स्ट्रबेरी, ब्लाकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्रि गर्दै आएको छ । सपिङ गर्न ई-फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइटमार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ। अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई-फार्मले जनाएको छ ।
बिल तिर्न ई-फार्म, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ। विदेशमा भएकाले आफ्नो आफन्तको लागि भनेर पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए ।
‘गाउँको कोसेली’ नारा लिएको ई-फार्मले किसानलाई उचित मुल्य र ग्राहकलाई गुणस्तरिय सामान बिक्रि गर्नु आफ्नो उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।
‘ग्राहक र किसानबीच पुलको काम गर्छौं,’ श्रेष्ठले भने, ‘धेरै जना विचौलियाले गर्दा ग्राहक किसानसम्म पुग्न सक्दैनन् भने अहिले ई-फार्मको माध्यमबाट सहजै पुग्न सकिन्छ ।’
वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने र ग्राहकले चर्को मूल्यमा किन्नुपर्ने समस्या तथा किसान र ग्राहकबीचको विचौलियालाई निरुत्साहित गर्न ई-फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए ।


