ड्रिम–११ बन्यो आइपिएलको मुख्य प्रायोजक, ३ अर्ब ५४ करोड रुपैयाँ |
अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ’ड्रिम ११’ इन्डियन प्रिमियर लिग २०२० को मुख्य प्रायोजक हुने पक्का भएको छ ।
उसले सिजनको आइपिएलका लागि २२२ करोड भारु (लगभग २९.७ मिलियन अमेरिकी डलर (३ अर्ब ५४ करोड रुपैयाँ) मा मुख्य प्रायोजनको अधिकार पाएको हो । प्रायोजन सम्झौता मंगलबारदेखि शुरु भएर २०२० को डिसेम्बरमा अन्त्य हुनेछ ।
यो सिजनको आइपिएल १९ सेप्टेम्बरदेखि युएईमा शुरू हुने तय छ ।
यसअघि चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजकबाट हात झिकेपछि आइपिएलले नयाँ प्रायोजकका लागि आह्वान गरेको थियो । भिभोले प्रायोजनका लागि वार्षिक औषत ४४० करोड भारु बुझाउने गर्थ्यो । भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलेपछि भिभोले सम्झौता सकिनु दुई वर्षअघि नै प्रायोजनबाट हात झिकेको थियो ।
मुम्बईको कम्पनी ड्रिम ११ सन् २००८ देखि क्रिकेटमा प्रवेश गरेको थियो । उसले च्याम्पियन्स लिग टी२० मा प्रायोजन गरेको थियो ।
ड्रिम ११ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आधिकारीक फेन्टासी पार्टनर समेत हो। आइसिसीको पार्टनर भएका कारण उसले आइसिसीका मुख्य प्रतियोगितामा बलियो उपस्थिति देखाउने गर्छ ।
ड्रिम ११ ले यसअघि न्युजिल्यान्डको घरेलु टी(२० फ्रेन्चाइज लिग र टी१० भिन्सी प्रिमियर लिगमा पनि प्रायोजन गरेको थियो। क्यारेबियन क्षेत्रको भिन्सी प्रिमियर लिग कोरोना भाइरसपछि भएको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो।


