आज रातिदेखि पोखरामा निषेधाज्ञा, चाडवाडमा हिँडडुल गर्न नपाइने |
पोखरा । पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार सर्वपक्षीय बैठक बसेको थियो ।
बैठकमा पाएको सुझाव अनुसार नै महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले सोमबार महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्यो। सिफारिसमा कोरोना रोकथाम गर्न सोमबारदेखि रातिदेखि नै निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो ।
सोमरबार साँझ गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम केन्द्रको बैठकले लकडाउन गर्ने जिम्मा अवस्था हेरेर जिल्ला प्रशासनले गर्ने निर्णय गर्यो् । महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरू गर्न नदिनसमेत रोक लगाउने भएको छ । नजिकिँदै गरेको कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।
पोखरा महानगरमा कोरोना संक्रमितको संख्या २१९ जना पुगेको छ भने अझै ९० जना क्वारेन्टिनमा छन् । यस्तै पोखरामा ४ जना संक्रमितको मृत्यु भइसकेका छ । जसमा पोखरा नै घर भएका मृतक संक्रमित १ जना मात्र रहेको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।



