बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो |
बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको गणना संख्यालाई नयाँ मापदण्ड अनुसार पुनरावलोकन गरेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार कम देखाइएको छ । योसँगै बेलायतमा यसअघि सार्वजनिक कोरोना संक्रमित मृतक संख्यामा १२ प्रतिशतले कमी आएको छ ।
अगष्ट १२ सम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार ३ सय २९ पुगेको भएपनि नयाँ तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४१ हजार ३ सय २९ मात्र देखाएको छ ।
कोभिड १९ को संक्रमणबाट भएका मृत्युलाई हालको नयाँ परिभाषा बमोजिम पुनर्गणना गरिएको सरकारले उल्लेख गरेको छ । यसघि बेलायतमा कोरोना संक्रमित भएका व्यक्तिको अन्य कुनै कारणले मृत्यु भएपनि कोरोनाकै मृतकको रुपमा घोषणा गरिँदै आएको थियो । तर अहिले सरकारद्वारा निर्धारित नयाँ गणना नीति अनुसार २८ दिनको हदबन्दी कायम गरिएको छ, जसले गर्दा वास्तविक संख्या निर्धारण गर्न सजिलो हुनेछ । यसका साथै बेलायतको गणना प्रक्रिया अन्य मुलुकसँग एकरुपता हुने बताइएको छ ।
नयाँ गणना प्रविधि अनुसार इंग्ल्याण्डमा पछिल्लो हप्ता जुलाई १८ देखि जुलाई २४ बीचमा भएको मृतक संख्यामा ७५ प्रतिशतले ह्रास आएको छ । यसबीचमा कूल ४ सय ४२को मृत्यु भएको तथ्याँक सार्वजनिक भएपनि नयाँ मापदण्ड अनुसार यो संख्या घटेर १ सय ११ मात्र कायम भएको सरकारले बताएको छ ।
इंग्ल्याण्डका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले कोरोना भाइरसबाट भएका मृत्युको बारेमा पुनर्विचार गर्न आग्रह गरेपछी मृतक संख्यामा पुनरावलोकन गरिएको हो ।
स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डमा कोरोना संक्रमण पोजिटिभ देखिएको चार हप्ताभित्रको मृत्युलाई मात्र समावेश गरिंदै आएको छ । तर बेलायतमा भने तेस्तो नभई मार्चमा कोरोनाबाट निको भैसकेको व्यक्ति जुलाईमा सवारी दुर्घटनामा मृत्यु भएपनि उसलाई कोरोना संक्रमणबाट मृत्यु भएको संख्यामा गणना गरिँदै आएको थियो । अब भने युकेका चारजना चीफ मेडिकल अफिसरहरुको निर्णय अनुसार कोरोना संक्रमण भएको २८ दिनभित्र भएको मृत्युको वाताविक तथ्यांकका आधारमा मृतक संख्या सार्वजनिक गरिनेछ ।
गत महिनादेखि बेलायतमा कोरोनाको संक्रमण र मृतक संख्यामा निकै कम हुँदै आइरहेको भएपनि पछिल्लो समयमा कोरोना संक्रमित संख्या बढ्दै गएको छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि विभिना स्थानहरुमा लकडाउन समेत गरिएको छ । पहिलो चरणको कोरोना संक्रमणबाट पाठ सिकेको बेलायतले कोरोना संक्रमणको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि विभिन्न तयारी गर्दै आएको छ ।


