केयुले उद्यमशीलता प्रतियोगिताको आयोजना गर्दै, बिजेताले १२ करोड रुपैयाँको पुरस्कारमा सहभागी हुन पाउने |
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती हल्ट प्रतियोगिता गर्ने भएको छ । यो प्रतियोगितालाई विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा पनि हेरिन्छ ।
प्रतियोगिताका लागि क्याम्पसका निर्देशक अविनाश सिलवालको नेतृत्वमा २० सदस्यीय समिति गठन गरिएको छ । सिलवालले कोभिड–१९ महामारीका बीच पनि प्रतियोगिताको तयारी भइरहेको बताए । विश्वविद्यालयले २०१६देखि यो प्रतियोगिता गर्दै आएको छ । सन् २०१८ र २०१९मा ५६ जना सहभागी भएका थिए ।
यो प्रतियोगिता एउटा खुला प्लेटफर्म हो, यसमा नेटवर्क र व्यापारलाई अघि बढाउन आइडिया दिन्छ । यो प्रतियोगितामा सहभागी भएका धेरैले राम्रो व्यवसाय समेत संचालन गरिसकेका छन् । यो प्रतियोगितामा हल्ट अवार्ड पाउनेमा महावीर पुन, दीपेशदास श्रेष्ठ, सुमन शाक्य र निकिता आचार्य छन् ।
यो प्रतियोगिताका विजेताले १० लाख डलर (१२ करोड रुपैयाँ) को ग्लोबल स्टार्टअप पुरस्कारमा सहभागी हुन पाउनेछ । प्रतियोगिताले १० लाख भन्दा बढी विद्यार्थीलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न अवसर प्रदान गर्ने दाबी छ ।


