ग्लोबल आइएमई बैंकको ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा |
काठमाडौं । जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
मर्जरमा जानु अगाडिको जनता बैंकको समेत नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । मर्जर अगाडिको जनता बैंकको नाफा ४५ करोड १३ लाख थियो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिशन, संचालन आम्दानी तथा संचालन नाफा बढेको छ । साथै बैंकको ब्याज खर्च, संचालन खर्च लगायतका खर्च बढेको छ भने खराब कर्जा समेत बढेको छ ।
चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५२.९२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ ।
असार मसान्तसम्म बैंकले बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो। बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड छ ।
अघिल्लो आवाको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने ०.५५ प्रतिशतबाट बढेर १.८० प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा बैंकको आधारदर ८.४२ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७३.१८ प्रतिशत तथा स्प्रेडदर ४.४३ प्रतिशत छ ।


