काठमाडौंमा जग्गाको मूल्याङ्कन यथावत, ललितपुरमा प्रति आना १२ सय रुपैयासम्म |
काठमाडौं । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७∕०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि क्षेत्रको थोरै बढाइएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गुरुदत्त सुवेदी कोभिड–१९ का कारण यस वर्षका लागि जग्गाको मूल्याङ्कन खासै परिवर्तन नभएको बताउछन् । हाल कायम मूल्यांकन पनि उचित नै भएको उनले बताए ।
हरेक वर्ष जग्गाको मूल्याङ्कन गर्ने सीडीओ नेतृत्वको समितिमा सम्बन्धित जिल्ला समन्वय समिति प्रमुख, करदाता सेवा कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य हुन्छन् । सो क्षेत्रको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ ।
भक्तपुरमा १२ हजारदेखि २४ लाखसम्म
जग्गाको न्युनतम मूल्यांकन समितिले भक्तपुर जिल्लामा प्रति आना १२ हजार १०० रुपैयाँदेखि २३ लाख ७६ हजार रुपैयाँसम्म मुल्यांकन तोकेको छ । भक्तपुरको साविक सिपाडोल गाविसको अरनिको राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम् मूल्य प्रतिआना रु.२३ लाख ७६ हजार तोकिएको छ ।
सोहि क्षेत्रभित्र प्लानिङ भएको ठाउँमा पक्की बाटो भएको जग्गाहरुका लागि प्रति आना ८ लाख ७१ हजार २०० रुपैयाँ तोकिएको छ भने कच्ची बाटो भएको क्षेत्रहरुमा प्रतिआना ६६ हजार ६०० देखि ७ लाख २६ हजार रुपैंयासम्म तोकिएको छ ।
भक्तपुरको विभिन्न क्षेत्रहरुमा गोरेटो बाटो भएका जग्गाहरु प्रति आना १ लाख ८ हजार ९ सय रुपैयाँदेखि २ लाख ६६ हजार २ सय रुपैयाँसम्म मूल्यांकन गरिएको छ । बाटो नभएको जग्गाको मूल्य प्रति आना १२ हजार १ सय रुपैयाँ देखि ५३ हजार ३ सयसम्म तोकिएको छ ।
उपत्यकाकै सस्तो ललितपुरमा
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये ललितपुरका विकट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो रहेको मूल्याङ्कन प्रतिवेदनले देखाउछ । ३ आनाको घँडेरी किन्न काठमाडौंमा करोडौं रकम खर्चिनु पर्छ । ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्याङ्कन भएको छ ।
गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । पिच सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति रोपनी तोकिएको छ भने अरु ठाउँमा रु.२० हजार प्रति रोपनी । यो दरले एक आनालाई १२ सय पर्छ ।
ललितपुरकै लगनखेल, जावलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा प्रति आना ३५ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । गोदावरी नगरपालिकाको पिच सडकले छोएको क्षेत्रमा १२ लाख र बाटो नभएका जग्गाहरु आनाको ७५ हजार रुपैयाँसम्म तोकिएको छ । सैँबु आवासीय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको छ ।
काठमाडौंमा यथावत
काठमाडौंका पनि अधिकांश क्षेत्रको जग्गाको मूल्यांकन गत आवकै कायम गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कम भयो भन्ने गुनासो आएका क्षेत्रहरुको बढाइएको छ बाँकी क्षेत्रको पहिलेकै मुल्यांकन राखिएको छ ।
काठमाडौंको हनुमानढोका, रत्नपार्क, ठमेल, इन्द्रचोक, न्यूरोड, माइतिघर, दरवारमार्ग, कमलादीलगायत क्षेत्रमा प्रतिआना ६० लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।
काठमाडौंमा सस्तो भनेको दक्षिणकाली नगरपालिका क्षेत्रका जग्गा देखिएको छ । दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्याङ्कनप्रति आना २५ हजार रुपैयाँ तोकिएको छ । राम्रो सडक भएको ठाउँमा भने प्रति आना ४ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।
काठमाडौं जिल्लामा सबभन्दा सस्तो जग्गा भनेको प्रति आना २५ हजार रुपैयाँ भएको छ ।


