स्वदेशी कागज उत्पादन गर्दै ‘क्वालिटी पेपर’ |
काठमाडौं । क्वालिटी पेपर इण्डष्ट्रिज प्रालिले कागज उत्पादन गर्ने भएको छ । १ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले केही दिनमै प्याकेजिङ (कार्टुन) उत्पादन गर्दैछ । त्यसपछि कागज (क्राफ्ट पेपर) उत्पादन गर्नेछ। २ वर्ष पहिले भरतपुर–३ बेलचोकमा स्थापना भएको उद्योगको कारखाना मध्यबिन्दु–१० अरुणखोलामा छ ।
उद्योगका प्रबन्धक निर्देशक राजन पियाले क्वालिटी ब्राण्डका कागज केही दिनमै बजारमा आउने बताए । उनका अनुसार उद्योगमा नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन प्रविधिका उपकरण जडान भएका छन् ।
४ जना युवाले प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा उद्योगमा लगानी गरेको उनले बताए । ‘कागजमा नेपाल परनिर्भर छ’, उनले भने, ‘कागजमा आत्मनिर्भर बनाउन केही भूमिका पुग्ने विश्वास लिएका छौं ।’
दैनिक १ सय ५० टन कागजजन्य फोहोर संकलन गरी प्रशोधन गरेर १ सय २० टन नयाँ कागज उत्पादन गर्ने योजना रहेको बताए । उनका अनुसार ३ महिनापछि लेख्ने र प्रिन्टिङ गर्ने कागज पनि उत्पादन हुनेछ ।
उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरी गुणस्तरीय कागज बनाइने बताए । उद्योग १५ विघा क्षेत्रफलमा फैलिएको छ। सरकारले निजी क्षेत्रलाई हस्तान्तरण गरेको देशकै ठूलो कागज कारखाना भृकुटी कागज कारखाना केही वर्षयता बन्द छ ।
नेपालमा क्राफ्ट पेपर उत्पादन गर्ने उद्योग क्वालिटीसमेत पाँच वटा पुगेका छन् । तीमध्ये भैरहवामा रहेको एउटा कागज उद्योग हाल बन्द छ ।
विराटनगरमा दुई र वीरगञ्जमा एक वटा उद्योग सञ्चालनमा रहेको गुप्ता बताउँछन् ।
उनका अनुसार नेपालमा प्रतिमहिना एक हजार टन क्राफ्ट पेपर भारतबाट आयात हुँदै आएको छ । यो परिमाण कुल स्वदेशी मागको ६० प्रतिशत हो ।


