मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनलले कोभिड-१९ बाट जोखिममा रहेका ४० हजारलाई बाँडे राहत |
काठमाडौं । मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनलले कोभिड-१९ बाट जोखिममा रहेका ४० हजारलाई राहत बाँडेको छ । दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका प्रभावित कामदारलाई राहत बाँडिएको हो ।
यससँगै फाउन्डेसनले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपूर्तिको सहयोग गर्ने र हात धुने तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्छ ।
साना व्यवसायीहरुका लागि साना व्यवसाय अनुदान समेत प्रदान गरिने बताइएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने 'हाम्रो समाजका अत्याधिक जोखिममा रहेकालाई सहयोग गर्ने र यस्तो संकटमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमा प्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेकोमा हामीलाई गर्व लागेको छ ।'
प्लान इन्टरनेसनल नेपालका सहायक आपतकालिन प्रबन्धक भुषण अर्याल भन्छन्, 'विदेशमा रोजगारी गुमाएर स्वदेशमा फर्किएका र हाल कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, बैजनाथ गाउँपालिका स्थित कोभिड १९ को महामारीबाट गम्भीर असर परेका गरीब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेशनल नेपाल खुशी छ ।'
'हामी, हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरुलाई कोभिड-१९ को नकरात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौ र परियोजना क्षेत्रमा ७,००० घरधुरीमा बस्ने ४०,००० मानिसहरू बीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापकरुपमा चेतना फैलाउन कार्य गर्नेछौं', उनले थपे ।
प्लान ईन्टरनेशनल विकास तथा मानवीय क्षेत्रमा कार्यरत एउटा स्वतन्त्र संस्था हो ।


