अब फर्म दर्ता तथा नवीकरण अनलाइनबाटै गर्न सकिने |
काठमाडौं । वाणिज्य विभागले फर्म दर्ता, नवीकरण तथा खारेजीका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीलाई सहजहोस् भनेर दर्ता, नवीकरण तथा खारेजीलगायतका काम बुधबारबाट अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको विभागका सूचना अधिकारी रवीन्द्र आर्चायले बताए ।
उनकाअनुसार विभागले एक जना अधिकृत र नायव सुब्बालाई खटाएर अनलाइन सेवा शुरु गरेको हो । यस सेवाले टाढा–टाढाबाट सेवाग्राहीलाई धाउन नपर्ने, कार्यलयमा भीडभाड कम हुने र विभागलाई रेकर्ड राख्न सहज हुने छ ।
सेवाग्राहीले डीओसी डट जीओभी डट एनपीमा अनलाईन फर्म दर्ता भन्ने लिंकमा गई दर्ता गर्न सक्ने छन् । दर्ता भएपछि प्रमाणपत्र लिन भने सेवाग्राही विभाग आउनु पर्ने छ ।
दीर्घकालीन योजना भएपनि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला अनलाइनमार्फत सेवा शुरु गर्दा सेवाग्राहीलाई अझ बढी प्रभावकारी हुने उनले बताए ।
उनकाअनुसार अहिलेसम्म २ जनाले अनलाइनबाट फर्म दर्ता गरेका छन् ।
साथै उपभोक्ताले एसएमएस, ट्वीटर, फेसबुक पेज, इमेल, इमोलगायतका सामाजिक सञ्जालबाट पनि गुनासो राख्न सक्ने व्यवस्था गरेको छ । यस अघि उपभोक्ताले टेलिफोनबाट मात्र गुनासो राख्न सक्थे ।
आयात निर्यातका लागि दिइने इजाजत पत्र पनि अनलाइनमार्फत दिने योजना बनाएको आर्चायले बताए । उनकाअनुसार त्यसको लागि सफ्टवेयर निमार्णको काम हुँदै छ ।



