आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक |
                                                                    
                                                                
	काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ ।
	सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २ सय ३५ बाघ पाइएका छन् ।
	संख्या दोब्बर बनाउन नेपाललाई अझै १५ वटा बाघ थप्नुपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् । १२१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई दोब्बर मानेको छ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको छ । यदि नेपालले लक्ष्य पूरा गरे बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्ने छ ।
	राष्ट्रपतिले गरिन् प्रशंसा
	यसैबीच अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा सरोकारवाला संघसंस्थाले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेकी छन् ।
	बाघ संरक्षणका लागि घाँसे मैदान, पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको संख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
	बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
	राष्ट्रपति भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने पनि उल्लेख गरेकी छन् ।
