लघुवित्त संस्थाले ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने, सेवा शुल्क १.५ प्रतिशत लिन पाउने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६∕७७ को खुद वितरण योग्य मुनाफाबाट ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न मंगलवार निर्देशन दिएको हो ।
नगद लाभांश लघुवित्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत∕ निक्षेपको भारित औषत बढी हुन नहुने, खुद वितरण योग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा कम भएको संस्थाले कर प्रयोजनको बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।
साथै लघुवित्त संस्थाहरूले कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा १.५ प्रतिशत सम्म मात्र सेवा शुल्क लिन पाउने भएका छन् । तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा ०.५० प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्तलाई निर्देशन दिँदै यस्तो व्यवस्था गर्न भनेको हो । लघुवित्त संस्थाले बचत∕निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन पाउने छैनन् ।



