काठमाडौं उपत्यकामा ३०६ जना सक्रिय संक्रमित, कोरोनाको जोखिम बढ्दो |
काठमाडौंं । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ । मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो । ३ सय ६ जना संक्रमितमध्ये २७ जना नेपाल प्रहरी मुख्यालयका सुरक्षाकर्मी छन् । काठमाडौं जिल्लामा मात्र संक्रमित संख्या २ सय २८ छ । त्यस्तै ललिपुरमा ५८ र भक्तपुरमा २० जना छन् ।
संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ । केहीलाई भने आइसोलेसन सेन्टरमा राखिएको छ । सरकारले उपत्यकाको तीन वटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ । जसमा खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पताल रहेका छन् ।
उपत्यकामा देखिएका संक्रमितहरू कस्ता हुन् भन्ने बारे मन्त्रालयले विवरण खुलाएको छैन । यद्यपी संक्रमितहरू धेरै विदेशबाट आएका रहेको बताइएको छ । यस्तै बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
केही संक्रमित भने उपत्यकाका स्थानीय र ’ट्राभल हिस्ट्री’ नभएका पनि छन् । तर ती कति संख्यामा छन् भन्ने मन्त्रालयले विवरण सार्वजनिक गरेको छैन । लकडाउनलाई पहिलो चरणमा खुकुलो पार्ने निर्णय भएसँगै स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणको लागि एउटा मापदण्ड जारी गरेको थियो । उक्त मापदण्डमा जिल्लामा २ सय बढी ’एक्टिभ केस’ भएको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने भनिएको छ ।
अहिले काठमाडौंमा कोरोनाको ’एक्टिभ केस’ २ सय नाघेको छ । तर मन्त्रालयका प्रवक्ता गौतमले अहिले उपत्यकामा पुनː लकडाउन गर्ने कुनै योजना नभएको स्पष्ट पारे ।
’मापदण्डमा गर्न सकिने भनिएको हो । त्यो पनि अवस्था हेरेर हुन्छ’ उनले भने, ’अहिले उपत्यकामा संक्रमितहरूलाई व्यवस्थापन गर्न सकिएको छ । त्यसैले लकडाउन गर्ने कुनै योजना छैन ।’
पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन् । उनीहरुले संक्रमण नियन्त्रण बाहिर जान नदिन परीक्षणलाई व्यापक बनाउनुपर्ने सरकारले सुझाव दिँदै आएका छन् ।
मन्त्रालयका विज्ञ सल्लाकारहरूले पनि परीक्षण बढाउन सुझाव दिएका छन् । उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि अहिले मन्त्रालयले ’मास टेस्टिङ’ को नीति अघि सारेको छ । जसमा उपत्यकामा मात्र दुई सातामा ४५ हजार जनाको परीक्षण गर्ने भनिएको छ ।
यस्तै अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरूमा पनि मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ । प्रवक्ता गौतमले मंगलबार मात्रै तीन वटा नाकाबाट ४८ सय जनाको स्वाब संकलन गरिएको जानकारी दिए ।
ती नाकाहरू थानकोट, फर्पिङ र साँगा रहेका छन् । यी नाकाबाट उपत्यका प्रवेश गर्ने बाहिरी जिल्लाका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो ।
यस्तै स्वेच्छाले शुल्क तिरेर परीक्षण गर्ने व्यक्तिहरूमा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार मात्र स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
सरकारले स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज गरी दुई वटा निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न पाउने अनुमति दिएको छ । योसँगै उपत्यकामा तीन वटा सरकारी अस्पताललाई पनि सशुल्क परीक्षण गर्ने अनुमति दिइएको छ । जसमा वीर, टिचिङ र पाटन अस्पताल छन् ।



