एघार महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोडको रेमिटयान्स, ३ प्रतिशतले घट्यो रेमिट्यान्स |
काठमाडौं । एघार महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोडको रेमिटयान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट बैंकले आज (बिहीबार) सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणमा गत साउनदेखि जेठसम्म उक्त रेमिटयान्स भित्रिएको हो ।
समीक्षा अवधिमा रेमिटयान्स आप्रवाहमा ३.० प्रतिशतले कमी आई ७ खर्ब ७४ अर्ब ८७ करोड कायम भएको नेपाल राष्ट बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह १७.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।


