दाङमा दोस्रो पटक भित्रियो सलहको हुल |
काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।
सलहको अर्को सानो समूह गढवा गाउँपालिकाका वडा नं २ महदेवा र वडा नं ३ धैरेनीमा पनि देखिएको थियो ।
गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् । किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको स्थानियले बताएका छन् ।
यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् । यस अघि आएको सलहको हुलभन्दा यसपटक आएको हुल धेरै नै ठुलो रहेको छ ।
दाङ देउखुरीको सिमाना प्युठानको दरबान क्षेत्रमा पनि सलह आएको स्थानीयले बताएका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
Visited 1 times, 1 visit(s) today


