पार्टीको विवाद निष्कर्षमा पुर्याउने काम सम्बन्धित दलको हो, जनताको जीवन रक्षामा जुटौं ː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद मिलाउने काम सम्बन्धित दलको भएको बताएका छन् । यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न आहृवान गरेका छन् ।
शुक्रबार टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले बाढी तथा पहिरोका कारण ३१ जनाको ज्यान जानुका साथै ३४ जना हराइरहेको बताए । उनीहरुको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यसमा जुट्न सबैलाई अपील गरेका छन् ।
साथै कोरोना भाइरसको संकट अझै नहटेको उनले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएको उनले बताए । यदि समुदायमा संक्रमण फैलियो भने अवस्था भयावह हुने भन्दै सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सत्तारुढ नेकपाभित्र भइरहेको विवादतर्फ संकेत गर्दै उनले महामारी र प्रकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु स्वभाविक भएको बताए । ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र बिमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तीनका नेताहरु आपसी छलफलबाटै सुल्झाउनेछन्’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि धर्यता र संयम आवश्यक हुन्छ ।’
कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता पाएको भन्दै उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुप्रति आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्टिय स्वाभिमानमाथि उठाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्ष्युण राख्न मेरो तर्फबाट दृढ अडान र हैदसम्मको प्रयास जारी रहनेछ ।’
आन्तरिक विमती वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान र प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।




