२८औँ आईजीपीमा नियुक्त थापाको यस्तो छ अहिले सम्मको यात्रा |
काठमाडौं । शैलेश थापा क्षत्री नेपाल प्रहरीको सर्वोच्च कमाण्डर प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन् । आज मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो । उनी नेपाल प्रहरीको २८औँ आईजीपी हुन् ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि सरकारले थापालाई नियुक्त गरेको हो । ज्ञवाली गत २८ माघमा आईजीपी नियुक्त भएका थिए ।
भक्तपुको कटुञ्जेमा २३ मंसिर २०२५ सालका जन्मिएका थापा २ जना दाजुभाइमध्ये कान्छा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन् । १९ वैशाख २०४९ सालमा इक्सपेक्टरबाट सेवा सुरु गरेका उनले एसपी हुँदासम्मका विभिन्न समयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरिसकेका छन् ।
एसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय कास्की, झापा, डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय धादिङको कमाण्ड सम्हालिसकेका छन् । त्यसैगरी उनले इन्स्पेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोकमा समेत काम गरेको अनुभव छ । एसएसपी हुँदा प्रहरी प्रधान कार्यालयको प्रवक्ता भएका क्षत्री डीआईजीमा पनि प्रवक्ता नै भएर काम गरेका छन् ।
त्यसरी नै डीआईजी हुँदा उनले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख भएर काम गरिसकेका छन् । प्रहरी संगठनभित्र प्रशासनबारे राम्रो अनुभव सँगालेका थापाले एआईजी हुँदा मानव स्रोत एवं प्रशासन विभागमा प्रमुख थिए । थापाका बुबा शक्भु थापा पनि नेपाल प्रहरीका पूर्वडीआईजी हुन् ।
Visited 1 times, 1 visit(s) today


