सर्लाहीमा एकैदिन १२० जना संक्रमित थपिए |
वीरगञ्ज । सर्लाहीमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा सोमबार १७४ जना संक्रमित थपिँदा सर्लाहीमा मात्रै १२० जना संक्रमित थपिएको हो ।
सोमबार सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा आमासँगै तीन वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहीको बिष्णु गाउँपालिकास्थित तेजनारायण दयावती माध्यमिक विद्यालय तथा मधुवन स्वास्थ्य चौकीको क्वारेन्टिनमा १ देखि १८ वर्ष उमेर समूहका ४ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३० जना र ४५ वर्षका थप एक जनागरी कुल ३५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिकास्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ बर्ष उमेर समूहका ५ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३२ जना, ४० देखि ६० वर्ष उमेर समूहका ५ जना पुरुष र १८ वर्षीय किशोर गरी कुल ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सर्लाहीकै चकरघट्टा गाउँपालिकाको पडरिया र ओरी निम्न माध्यमिक विद्यालयको क्वारेन्टिनमा १ देखि १८ वर्ष उमेर समूहका ५ जना र १९ देखि ४० वर्ष उमेर समूहका १० जनागरी कुल १५ जनामा, सर्लाहीकै बलरा नगरपालिका स्थित बलरा माध्यमिक विद्यालयको क्वारेन्टिनका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ४ जनागरी कुल ८ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।
सर्लाहीकै ईश्वरपुर नगरपालिकास्थित क्वारेन्टिनका १४ वर्षीया बालिका तथा १ देखि १८ वर्ष उमेर समूहका २ जना पुरुष, सोही क्वारेन्टिनका ५० वर्षीय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समूहका १४ जनागरी कुल १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै रामनगर गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
Visited 1 times, 1 visit(s) today


