सुदूरपश्चिमको क्वारेन्टिनमा एक हप्तामा ७ जनाको मृत्यु |
कैलाली । १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् ।
त्यसयता सात दिनमा सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर, बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ ।
शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी ४ कि ५५ वर्षीया महिला भने क्वारेन्टिनमा थिइनन् । त्यसबाहेक बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २∕२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ ।
प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएकै जिल्ला बाजुरामा शनिबार थप एक जना वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
डडेल्धुराको क्वारेन्टिनमा पनि २ जनाको मृत्यु भएको छ । २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो । उनी श्रीमान् सहित १६ गते भारतबाट आएकी थिइन् ।
त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो । आमा–बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।
शनिबार साँझ बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह महराले जानकारी दिए । मृतक पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट क्वारेन्टिनमा बसेका थिए ।
यसअघि २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो ।
आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ ।


