चौबीस घण्टासम्म उठेन अस्पतालबाट रुपन्देहीका कोरोना संक्रमितको शव | कोरोना देखिएपछि उपचारै नगरिएको परिवारको दाबी
बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।
मृतकको परिवारका सदस्य (भाइ)ले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको दाबी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
‘जब कोरोनाको रिपोर्ट आयो, त्यसपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइको दाबी छ ‘अस्पतालले राम्रोसँग उपचार गरेको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको छ ।’
बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दूध आफैँ खाएको उनले बताए ।
कोरोना पोजेटिभ देखिएपछि आफूहरूलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र बिरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।
मदानेको पुर्कोटदहबाट सन्धिखर्कसम्म मोटरसाइकमा चढेर गएको र एम्बुलेन्समा मणिग्राम आएपछि अस्पतालको गेटबाहिरबाट इमर्जेन्सीसम्म पैदल हिँडेरै गएकाले बिरामीको अवस्था त्यस्तो नाजुक नभएको मृतकका सालाले बताए ।
‘कोरोना देखिएपछि बिरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानबिन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाहसंस्कार गर्ने भनिए पनि घाटको समेत समस्या भएकाले ढिलाइ भएको प्रतिक्रिया दिए । उनले मृतकको मागका बारेमा आफूलाई जानकारी नभएको बताए ।
क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले बिरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दाबी गरे । ‘यस्तो अप्ठ्यारो अवस्थामा हामीले सेवा दिएका छौं । फेरि पनि अस्पताललाई नै दोष दिने कुरा सरासर गलत हो’–बस्यालले भने–‘बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो । तर, अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।’



