अष्ट्रेलियाले खोल्दैछ लकडाउन, तीन चरणमा गरी यस्तो छ खोल्ने तयारी |
अष्ट्रेलियाले गत मार्चदेखि लागु गरेको आंशिक लकडाउनलाई तीन चरणको प्रक्रियाबाट खुकुलो बनाउने तयारी थालेको छ ।
शुक्रबार प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको संक्रमणमा कमी आएसँगै क्यानबेरामा जुलाईसम्म १० लाख मान्छेलाई काममा फर्काउने योजना रहेको बताएका छन् ।
अष्ट्रेलियाले कोरोनाभाइरससँग लड्न देशको सीमा बन्द गरेको थियो । दैनिक २० जनाभन्दा कम संक्रमण देखिन थालेपछि अष्ट्रेलियाका राज्यहरू लकडाउन हटाउँदै जान सहमत भएको मोरिसनले बताएका छन् ।
’सधैँ डुना (सिरक) भित्र लुकेर बसे कहिल्यै पनि खतराको सामना गर्नुपर्दैन,’ क्यानबेरामा उनले पत्रकारहरूसँग भने,’तर हामीलाई सिरकबाट एकदिन त बाहिर निस्किन पर्छ ।’
ती तीन चरणका प्रकृया कहिलेबाट थाल्ने भन्ने निर्णय राज्य तथा क्षेत्रहरूको हातमा हुने उनले बताए । अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण सात हजार भन्दा कम छन् भने ९७ जनाले ज्यान गुमाइसकेका छन् । आवातजावत खुकुलो बनाउने निर्णय गरे पनि खतरा भने अझै नटरेको मोरिसनले बताएका छन् ।
पहिलो चरणमा रेष्टुरेन्ट तथा क्याफेलगायत खोल्न दिने निर्णय गरिएको छ । रेष्टुरेन्ट र क्याफेले एक पटकमा १० जनामात्रै ग्राहक राख्न पाइनेछ ।
त्यसपछि पनि संक्रमण नबढे दोस्रो चरणमा जानेछ । दोस्रो चरणमा जिम, सिनेमा, आर्ट ग्यालरी तथा व्यापारहरू खोल्न दिइनेछ । ती ठाउँमा एक पटकमा २० जना भेला हुने पाउनेछन् । यो बेला आन्तरिक भ्रमणका लागि पनि छुट दिइने मोरिसनले बताए ।
तेस्रो चरणमा भने एक सय जनासम्मलाई भेला गर्न दिइने छ । सम्पूर्ण अफिस तथा नाइट क्लबहरू समेत खोल्न दिने गरी खाका बनेको छ । त्यतिबेला आन्तरिक भ्रमणसँगै अष्ट्रेलिया र न्युजिल्यान्डबीच उडान पनि हुनेछन् ।


