‘लकडाउन’ कडा पार्नु र मजदुरलाई हिँड्न नदिनु ː प्रधानमन्त्री | खाद्यान्नको व्यवस्था गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् ।
शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् ।
मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् ।
‘लकडाउनलाई कडिकडाउ गर्नु, कसैलाई पनि छुरुक्क पनि हिँडन नदिनु,’ प्रधानमन्त्री ओलीले दिएको निर्देशन उद्धृत गर्दै एक सुरक्षा अंगका प्रमुखले भने, ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
एक मन्त्रीका अनुसार लकडाउन प्रभावकारी बनाउने भनिए पनि पैदल हिँडेर अलपत्र परेका मजदुरका बारेमा खासै छलफल र निर्देशन भएन । सरकारले लकडाउनपछि मर्कामा परेका मजदुर वर्गको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले विशेष बैठक बोेलाएर उनीहरुको व्यवस्थापन गर्ने अपेक्षा गरिएको थियो ।
‘लकडाउनमा आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । बरु खान नपाएरै जान लागेका हुन् भने खाद्यान्नको व्यवस्था गर्नु’, अलपत्र मजदुरबारे प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
तर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाइ गर्ने र घर जान चाहने र बाटामा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएको बताएका छ्न् ।
“अत्यावश्यक बाहेकका आवतजावत थप कडाइ गर्न र सीमानाकामा अझ कडाइका साथ बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ”, मन्त्री ज्ञवालीले भनेका छ्न्, “घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।”



