नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित | उदयपुरको मस्जिदमा रहेका १२ र चितवनमा एकै परिवारका दुई जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय भएको आफूलाई जानकारी आएको बताए ।
’मलाई काठमाडौंबाट भर्खरै जानकारी भयो। उनीहरू भारतीय नागरिक भन्ने सूचना छ’ उनले भने, ’अब कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउँछौं ।’
उनीहरू एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर आएको भन्ने बुझिएको छ । अहिले सो मस्जिदमा १६ जना रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए । उनले १६ जनामध्ये १२ जना भारतीय रहेको पनि जनाए। ’उहाँहरू मस्जिदको ठूलो हलमा हुनुहुन्छ। हामीले निगरानी गरिरहेका छौं,’ उनले भने ।
बुधबार १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो ।
उदयपुर जिल्लाका कोरोना संक्रमित १२ वटामध्ये ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरुष रहेका छन् ।



