भारतको सुरतमा मध्यरात प्रदर्शनमा उत्रिए लक डाउनले अड्किएका मजदुर |
भारतको गुजरातस्थित सुरतमा गएराति सयौं मजदुरहरूले आफ्नो घर जान पाइयोस् भन्दै प्रदर्शन गरेका छन् । उनीहरूले आफूले पाउने तलब वा घर जान व्यवस्था मिलाइदिन भन्दै नाराबाजी गरेका हुन् ।
प्रदर्शन स्थलमा प्रहरी आएपछि स्थिति भड्किएको थियो। सात सयभन्दा बढी मजदुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पछि पनि ६० भन्दा बढी व्यक्तिलाई हिरासतमा राखिएको छ ।
स्थिति तनावग्रस्त भएपछि अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी गस्ती बढाइएको छ ।
मजदुरले आफूहरूलाई खाना र बस्नको समस्या रहेको भन्दै घर जान माग गरेका हुन्। धेरै मजदुरहरूले आफ्नो कामको तलब समेत पाएका छैनन् । उनीमध्ये धेरै निर्माण क्षेत्रमा काम गर्ने मजदुर छन् ।
प्रहरीका अनुसार मजदुरहरूले आफूलाई खानाको अभाव रहेको र पैंसा पनि नभएको बताएका छन् । निर्माण क्षेत्र नजिकै बसेका उनीहरू नाराबाजी गर्दै सडकमा उत्रिएका थिए ।
भारतमा गत चैत १२ देखि लक डाउन गरिएको छ । लक डाउनका कारण भारतका विभिन्न सहरमा अलपत्र परेका मजदुरहरू केही समयअघि हिँडेरै घर पुगेका थिए ।
पछि केन्द्र सरकारले जो जहाँ छन् त्यहीँको राज्यले उनीहरूको व्यवस्था गर्नुपर्ने नियम बनाएको छ । भारतमा विभिन्न राज्यमा काम गर्ने झन्डै १२ करोड आप्रवासी मजदुर लक डाउनमा फसेका छन् ।
लक डाउनका बाबजुद् पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । शनिबारसम्म त्यहाँ ७ हजार ६ सय मानिसमा संक्रमण देखिएको छ भने २ सय ४९ जनाको मृत्यु भएको छ ।



