मध्यरातमा महाकाली तरेर १४ जना नेपाल छिरे |
काठमाडौं । नेपाल र भारत सीमा नाकामा यात्रु आवतजावत बन्द गरेको २० दिनसम्म पनि भारतबाट नेपाल आउने क्रम रोकिएको छैन । भारतबाट आउनेहरुमा कोरोना सं क्रमण हुनसक्ने भन्दै मुलुकमा लकडाउन गर्नुभन्दा पहिले नै भारतसँगको सीमानाका बन्द गरेको भएपनि भारतबाट नेपाल प्रवेश गर्नेक्रम नरोकिएको हो ।
दुई देशबीच सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई त्यही क्वारेन्टाइन बनाएर राख्ने सहमति पनि भएको छ । तर, चैत २५ गते राति दुई बजेतिर १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाइएको छ ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी भन्छन्, ‘२∕३ जना पौडी खेल्न सक्नेछन् । उनीहरु शुरुमा आए र त्यसपछि डोरी टाँगेर त्यसकै सहयोगमा आएका रहेछन् ।’
भोलिपल्ट प्रहरीले खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको धामीले बताए । उनका अनुसार भारतमा मजदुरी गर्ने उनीरु बझाङ र बैतडीका हुन् ।
भारतमा लकडाउन भएपछि धार्चुलासम्म आइपुगेका थिए । तर, सीमामा आवागमन बन्द भएपछि रोकिए ।
भारतीय पक्षले जोलजीवी इन्टरकलेजमा बनाएको क्वारेन्टाइनमापनि १० दिन बसे । तर, खाने र बस्ने दुबै व्यवस्था आफूहरु भागेर आएको उनीहरुले बताएका छन् ।
अध्यक्ष धामीका अनुसार मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को सीमा भारतसँग जोडिएको छ । त्यसैले मानिसहरु लुकेर आउने प्रयास गर्छन् । यसरी आएका ३३ जना अहिले पनि गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।
उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।



