लक डाउनमा सेजनको भिडियो कन्फेरेन्स, चनाखो भएर आर्थिक पत्रकारिता गर्न सुझाव |
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रतिक प्रधानले महामारीबा बेलामा आर्थिक पत्रकारको भूमिका अझ बढी हुने बताएका छन् । उनले महामारीबाट गरिबी बढ्ने, वर्गीय दूरी अझ बढ्न सक्ने, भ्रष्टचार र अनियमितता बढ्न सक्ने भन्दै यस्ता विषयमा आर्थिक पत्रकारले चनाखो भएर कलम चलाउनुपर्ने बताए ।
सेजनले मंगलवार भिडियो कन्फरेन्स मार्फत आयोजना गरेको ‘महामारीको समयमा आर्थिक पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्षले यस्तो बताएका हुन् । महामारीले अर्थतन्त्रमा पार्ने आसर, रिकोभरका लागि अपनाउनुपर्ने उपायलगायत विषयमा विज्ञका विचारलाई बाहिर ल्याउनुपर्ने उनले बताए । त्यस्तै, उनले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि अनुसरण गरिनुपर्ने बताए ।
अन्तरक्रियामा सेजनका पूर्वअध्यक्ष किरण नेपालले महामारीको बेलामा प्राथमिकता छुट्याएर रिर्पोटिङ गर्नुपर्ने बताए । ‘पहिला मान्छेलाई बचाउने हो अनि अर्थतन्त्र पनि बचाउने हो’ उनले भने, ‘आर्थिक पत्रकारले अर्थतन्त्रलाई जोगाउने विषयमा समाचार पस्कन सक्नुपर्छ ।’ यस्तो बेलामा अनियमितता हुन सक्ने भन्दै सरकारले गर्ने टेण्डर नोटिस, खरीद, सम्झौतालगायत विषयलाई मिहिन ढंगले हेर्नुपर्ने बताए । कोरोना महामारीले ससकारको अर्थतन्त्रलाई चर्को असर पारेको भन्दै आर्थिक पत्रकारहरुले यस विषयमा कमल चलाउनुपर्ने बताए ।
सेजनका अर्का पूर्वअध्यक्ष गोकर्ण अवस्थीले पत्रकारले व्यक्तिगत सुरक्षा र सूचनाको सुरक्षा गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले अहिले भ्रष्टचार तथा कालाबजारी अझ मौलाउदै गएको भन्दै आर्थिक पत्रकारले यसमा कलम चलाउनुपर्ने बताए ।
सेजनले लक डाउनको अवधिमा पहिलो कार्यक्रमको रुपमा भिडियो कन्फरेन्सको आयोजना गरेको हो । कार्यक्रममा आर्थिक पत्रकारहरुले महामारीमा आफूले कसरी पत्रकारिता गरिरहेको भनेर आ–आफ्ना अनुभव पनि सुनाए । त्यस्तै, महामारीका बेलामा आफ्नो सुरक्षा, स्रोतसँगको पहुँच, सूचनाको भेरिभाईलगायत विषयमा अन्तरक्रिया गरेका थिए ।



