एघार दिनमा विदेशबाट दाङ आएका ३ हजार ६ सयमा स्वाब परीक्षण २० को मात्रै |
दाङ । दाङमा चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा ३ हजार ६ सय ३६ जना विदेशबाट फर्किएका छन् ।
जिल्ला आपतकालीन कार्य सञ्चालन कार्यालयका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालका अनुसार जिल्लाका दश स्थानीय निकायमा ११ दिनमा ३ हजार ४ सय ९५ जना भारतबाट र अन्य मुलुकबाट १ सय ४२ जना फर्किएका छन् । खुल्ला सीमानाबाट लुकिछिपी अरु थप पनि आएको हुन सक्ने अनुमान छ ।
तर अहिलेसम्म जिल्लामा कोरोना आशंका गरिएका २० जनाको मात्रै स्वाब परीक्षण भएको छ । परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
दाङ जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले हालसम्म २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगटिभ आएको बताए ।
उनका अनुसार बेलझुण्डीस्थित आइसोलेसनमा बसेकामध्ये १५ जना र घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा राखिएका ५ जनाको स्वाब परीक्षण गरिएको हो।
शनिबार मात्रै तुलसीपुरस्थित बेलुझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत चार जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिए । अब बेलझुण्डीमा एजकना पनि विरामी आइसोलेसनमा छैनन् ।
जिल्लामा १६ जना क्वारेन्टिनमा
दाङमा आइतबारसम्म १६ जना क्वारेन्टिनमा बसेका छन् । तुलसीपुरमा ११, घोराहीमा ३ र बबईमा २ जना विदेशबाट आएकाहरु क्वारेन्टिनमा छन् ।
तुलसीपुरका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार तुलसीपुर क्वारेन्टिनमा रहेकामध्ये दुबईबाट आएका दुईजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।
क्वारेन्टिनमा रहेका कसैमा पनि हालसम्म कुनै प्रकारको स्वास्थ्य समस्या नदेखिएको उनले बताए ।
Visited 1 times, 1 visit(s) today


