कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले सय प्रतिशत भत्ता पाउने |
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड(१९) को उपचारको लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई सय प्रतिशत भत्ता दिने भएको छ ।
साथै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सघाउने जनशक्तिलाई पनि पचास प्रतिशत भत्ताको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
’सरकारले कोरोना उपचार गर्नको देशभर अस्पतालहरू तोकेको छ । यो सुविधा त्यहाँ खट्ने स्वास्थ्यकर्मी र अन्य जनशक्तिले पाउनुहुन्छ,’ उनले भने ।
सरकारले देशभर २५ वटा अस्पताललाई कोरोनाको उपचार गर्नलाई हब अस्पताल घोषणा गरेको छ । त्यस्तै, कोरोनाको उपचार गर्न प्रदेश स्तरीय अस्पतालहरूको रूपमा जिल्ला अस्पतालहरूलाई तोकिएको छ ।
प्रदेश–१ मा १३, प्रदेश–२ मा ५, बागमती प्रदेशमा १० र गण्डकी प्रदेशमा १० वटा जिल्ला अस्पताललाई कोरोना उपचार गर्ने अस्पताल तोकिएको छ । त्यस्तै प्रदेश–५ मा ९, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा पनि ८ वटा जिल्ला अस्पतालाई तोकिएको छ ।
सरकारले देशभरबाट २० वटा मेडिकल कलेजलाई पनि कोरोना उपचार गर्ने अस्पतालको रूपमा तोकेको छ ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठित उच्च स्तरीय समन्वय समितले कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्म निːशुल्क २५ लाखको बीमा तथा क्षतिपूर्तिको व्यवस्था रहने निर्णय गरेको थियो ।
प्रवक्ता देवकोटाले सरकारले कोरोना उपचार गर्न तोकेको हब अस्पतालहरूलाई आपतकालीन खर्चको लागि १० लाख रुपैयाँ वितरण गरेको पनि जानकारी दिए । साथै सरकारले निजी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च बुझाउन पनि भनेको छ ।
’अहिले निजी अस्पतालहरूले संक्रमितको उपचार गर्नुपरेको छैन । त्यो भयो भने संक्रमितको खर्च सरकारले व्यहोर्छ,’ देवकोटाले भने ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि नै कोरोना संक्रमितको उपचारमा लागेको सबै खर्च सरकारले व्यहोर्ने बताएका थिए । अहिलेसम्म नेपालमा ५ जना कोरोना संक्रमित रहेकोमा पहिलो संक्रमित निको भएर घरमा छन् ।
बाँकी चारजना आइसोलेसनमा उपचाररत छन् । जसमा दुईजना टेकु अस्पताल, एक जना सेती प्रादेशिक अस्पताल धनगढी र एक जना धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा छन् ।
ती सबैको उपचार खर्च सरकारले नै व्यहोर्नेछ ।


