कोरोना रोकथाम तथा विवरण संकलनका लागि सेनाको ‘मोबाइल एप’ |
 
                                                                    
                                                                
	काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि सूचना संकलन गर्ने मोबाइल एप शुरु गरेको छ । कोरोना भाईरस रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने उदेश्यले सर्वसाधरणबाट सूचना लिनका लागि मोबाइल एप शुरु गरेको सेनाले जनाएको छ ।
	’सर्व–साधरणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले ’कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नामक मोबाइल एप तयार गरि प्रयोगमा ल्याएको छ’, नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ,’यस मोबाइल एप को प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाइमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।’
	विपद्को घडीमा जनमानसमा विभिन्न किसिमका हल्लाहरू फैलनबाट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत मोबाइल एपले सहयोग गर्ने सेनाले विश्वास लिएको छ ।
	मोबाइल एपमार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने सेनाले जनाएको छ ।
	नेपाली सेनाको आधिकारीक वेभ साईट nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने छ भने हाललाई यो एप एन्रोइड मोबाइल फोनको लागि मात्र तयार गरिएको छ र केही दिनमा नै आइफोनका लागि समेत तयार गरिने सेनाले जनाएको छ ।
	’एपको प्रयोग गर्न शुरुमा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने छ । त्यसपछि प्रयोगकर्ताले नेपाली सेनाले जारी गरेका सूचनाहरु सहज रुपमा प्राप्त गर्ने छन् ’, सेनाले भनेको छ,’प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथीभाइमा कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन् ।’
	बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितिमा परिवर्तन आएमा सोको विवरण पुनː अध्यावधिक गर्नसमेत सेनाले अनुरोध गरेको छ ।

 
                                                                     
                                                                    