संचारमन्त्री बाँस्कोटाको ७० करोड कमिसन काण्ड: सामाजिक संजाल तात्यो |
 
                                                                    
                                                                काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो एक अनलाइनले सार्वजनिक गरेपछि सामाजिक संजाल ‘तातेको’ छ ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुरा डटकम नामक अनलाइन न्यूज पोर्टलले सार्वजनिक गरेपछि फेसबुक, ट्वयूटरलगायतका सामाजिक संजालमा हंगामा मच्चिएको छ ।
सामाजिक संजालमा मन्त्री बाँस्कोटालाई ब्यङ्य गर्ने, आलोचना गर्ने साथै अडियो निराधार र प्रपोगाण्डा हो भनेर समेत अभिब्यक्तिहरु सार्वजनिक भइरहेका छन् ।
सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारप्रति व्यङ्ग्य गरेका छन्
प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै भट्टराईले ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’
कतिपयले ‘संचारमन्त्री भ्रष्टाचारमा शुन्य सहनसिलता यही हो ?’ भनी प्रश्न गरेका छन् । त्यतिमात्र होइन संचारमन्त्रीको छुद्रो र रुखो बोलीको खुलेर आलोचना गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले घुस सेटिङको विरोध गरिरहेका छन् ।
यस विषयमा सरकारका अधिकारीहरुले धारणा सार्वजनिक गरेका छैनन् । संचारमन्त्री स्वयमले यसको जवाफ दिनुपर्ने प्रतिक्रियाहरु आइरहको छ । संचारमन्त्री बाँस्कोटाले भने आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया संचारमाध्यमहरुलाई दिएका छन् । उनले भनेका छन–‘खाएको विष लाग्छ, नखाएको लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस् ।’
यसै विषयलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भने तत्कालीन माओवादी नेताबीच छलफल भएको खबर प्राप्त भएको छ । प्रतिपक्षी नेपाली कांग्रेसले घट्नाको तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियोमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेको हाम्राकुरा डटकमले खबर लेखेको छ ।

 
                                                                     
                                                                    