काठमाडौंको मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो, गत वर्षको तुलनामा बढी |
काठमाडौं । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ । यस आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ६.८२ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा मूल्यवृद्धि ४.५८ प्रतिशत थियो । सरकारले यस आर्थिक वर्ष यस्तो मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्न लक्ष्य लिएको छ ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
यो अवधिमा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको यो अवधिमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।



