अझै दश स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेनन् |
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना सम्ममा ७५३ स्थानीय तहमध्ये ७४३ तहमा वाणिज्य बैंकको पहुँच विस्तार भएको छ । जस अनुसार अझै १० स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन् ।
राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । प्रदेश १, प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा १र१ शाखा विस्तार गर्न बाँकी छ । यस्तै प्रदेश ३ को दुई स्थानीय तह र सुदूर पश्चिमको चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कार्तिक सम्ममा १६५ रहेको छ । त्यसमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा मंसिर मसान्तमा ९२९७ वटा पुगेको छ । यस्तै वाणिज्य बैंकको ३ हजार ९५१, विकास बैंकको १ हजार २९०, वित्त कम्पनीको २२९ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ८२७ गरी ९ हजार २९७ वटा शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा कुल १८१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् । त्यस मध्ये १३८ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४३ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


