बिग मर्जरको तयारीमा इन्भेष्टमेन्ट बैंक, नेपाल एक्सप्रेस फाइनान्सलाई गाभ्ने निर्णय |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले अब ’बिग मर्जर’ गर्ने तयारी गरिरहेको बताएको छ । सोमबार मात्रै बैंकले नेपाल एक्सप्रेस फाइनान्सलाई गाभ्ने निर्णय गरेको छ । यसअघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभिसकेको छ ।
अब खुद्रे होइन बिग मर्जर गर्ने घोषणा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन् । सोमबार बैंकको वार्षिक साधारणसभामा पाँडेले बिग मर्जर नगरी सुख नभएको बताए ।
अहिलेकै जस्तो तरिकाले चल्दा बैंकहरुले विगतको जस्तो लाभांश आगामी दिनमा बाँड्न नसक्ने तर्क दिँदै पाँडेले भने, ’अब एक्लै हिँड्दा खर्चले पनि धान्न सक्दैन । मर्जरमा जानु पर्छ ।’
पाँडेले साधारणसभामा बिग मर्जरको चर्चा मात्रै गरेका होइनन्, बैंकले तीनवटा बैंकसँग कुराकानी थालिसकेको छ । राष्ट्र बैंकको सुझाव र बैंकको आफ्नै बाध्यताका कारण पनि इन्भेष्टमेन्ट बिग मर्जरमा जान खोजेको हो । राष्ट्र बैंकले इन्भेष्टमेन्टलाई हिमालयन बैंकसँग मर्ज गर्न सुझाब दिँदै आएको छ ।
इन्भेष्टमेन्ट बैंकको पुँजी जति ठूलो छ, तुलनात्मक रुपमा सञ्जाल कम छ । पछिल्ला पुस्ताका कतिपय बैंकहरू इन्भेष्टमेन्टको हाराहारीमा आइसकेका छन् । पछिल्लो समय तीनवटा जति ऋणमा समस्या देखिएको छ । तनहुँ हाइड्रोपावर, मेलम्चीको सिएमसी र रिद्धिसिद्धि टायलमा गएको ऋणमा समस्या देखिएको छ । यसवापत बैंकले एक अर्ब हाराहारी नोक्सानी ब्यवस्थापन गरिसकेको छ ।
अर्कोतर्फ इन्भेष्टमेन्ट जस्तो बैंकले अर्को संस्था लिएर आफ्नो नीतिलाई सघाइदिओस् भन्ने राष्ट्र बैंकको चाहना पनि छ । सबै विषयलाई ध्यानमा राखेर इन्भेष्टमेन्ट बैंकले चाँडैलै अर्को ’क’ वर्गको बैंकलाई गाभ्न खोजेको हो ।
बैंकका संस्थापक शेयरधनी बीचको ’इगो’ ले गर्दा मर्जर हुन नसकेको भन्दै उनले भने, ’यो मेरो बैंक, यो मेरो बीमा कम्पनी भन्ने भावनाले मर्जरको काम अगाडि बढ्न नसकेको हो । तर मेरो चाहाना मर्जर हो। ’
मर्जर किन आवश्यक छ भन्ने तर्क पनि पाँडेले साधारणसभामा दिएका छन् ।उनले भने, सबैको लगातार खर्च बढिरहेको छ । यसमा खेल्ने ठाउँ छैन । एकै ठाउँमा सबैको शाखा र एटीएम छन् । हेर्नुस् त एउटै ठाउँमा १० वटा एटीएम छन् । यसले खाली एटीएम कम्पनीलाई मात्रै धनी बनाउने काम भइरहेको छ ।
बैंकिङ क्षेत्रमा नयाँ नयाँ कुरा आइरहेको छ । सूचना प्रविधि (आइटी) मै धेरै खर्च गरिरहनु परेको छ । आइटीसँग सम्बन्धित आपराधिक घटना भइरहेको छ । यसमा खर्च नगरी सुखै छैन । त्यसैले मर्जरमा गएर ठूलो हुँदा खर्च कम हुन्छ, चाहिँदो ठाउँमा लगानी बढाउन सकिन्छ ।
’मर्जरमा जाने हो भने मलाई अध्यक्ष पद पनि चाहिँदैन । म अध्यक्ष हुन्छ भनेर अगाडि बढ्यो भने कहिले पनि मर्जर हुँदैन । बरु म सञ्चालक सदस्यमै बसुँला । म शेयरधनीहरुको स्वास्थका लागि काम गर्ने मान्छे हुँ,‘ उनले भने ।
साधारणसभामा कतिपय शेयरधनीहरुले साना साना बैंकलाई गाभेर ठूलो बनाउन सुझाव दिएका थिए । तर अध्यक्ष पाँडेले खण्डन गर्दै भने ‘हामीले सानो मर्जर त गरिरहेका छौं । सानो मर्जरबाट हुँदैन । बिग मर्जर नै गर्नु पर्छ ।’
अहिले भएको २७ बैंकलाई १४ मा झर्नु पर्ने विश्लेषण पाँडेले सुनाए । ’मैले अहिले योसँग कुरा भइरहेको छ भन्नु हुँदैन तर हामीले प्रयास गरिरहेका छौं,’ उनले भने, ’म यहाँ अध्यक्ष भएका कारणले न शेयर खरिद गर्न पाउँछु, न बेच्न पाउँछु । यतिसम्मकी मैले शेयर धितोमा राखेर कर्जा लिन पनि पाउँदिन,’ उनले भने, ’मर्जरमा मेरो ब्यक्तिगत कुरो केही पनि छैन । सबै शेयरधनीलाई फाइदा हुन्छ यसबाट ।’
बैंकको साधारणसभाले साढे ८ प्रतिशत नगद लाभांश साढे १० प्रतिशत बोनस शेयर पारित गरेको छ । साधारणसभाले मर्जरको आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।



