बुटवलमा वर्डक्याम्प–२०२० आयोजना गरिदै, पाँचसय जना सहभागी हुने |
बुटवल । बुटवलमा वर्डक्याम्प बुटवल २०२० हुने भएको छ । वेबसाइट बनाउने सफ्टवेयर वर्डप्रेस सम्बन्धी सम्मेलनको तयारी थालिएको छ ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । बुटवलमा पहिलो पटक आयोजना हुन गइरहेको वर्डक्याम्प बुटवल सूचना प्रविधि सम्बन्धी बुटवलकै पहिलो अन्तरराष्ट्रिय सम्मेलन भएको वर्डप्रेस तथा वर्डक्याम्प बुटवलका लिडर एवम् सफ्टवेयर डेभलपर माधव ढुगांनाले बताए ।
कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु साथै भारत र जापानका २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा प्रस्तुति दिने र अनुभव बाड्ने छन् ।
बुटवलमा सूचना प्रविधि सम्बन्धी प्रभावकारी कार्यक्रमहरु नभइरहेको अवस्थामा वर्ड क्याम्प बुटवलले यस क्षेत्रका सूचना प्रविधिको स्तर उकास्दै अन्तरराष्ट्रिय पहुँचको विकास गर्ने आयोजकको दाबी छ ।
नेपाल भ्रमण वर्ष २०२० को आगमनसँगै लागिएको कार्यक्रममा जापान, भारतलगायतका विभिन्न देशबाट सहभागी आउने हुँदा भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा देश तथा विदेशबाट पाँच सय जना बढीको सहभागिता रहनेछ । कार्यक्रमका लागि करिब ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।
आगामी माघ ११ गते जनवरी २५ का दिन बुटवलको योगिकुटीस्थित द दरबार लन’मा हुने कार्यक्रममा सहभागि हुनका लागि एकहजार प्रवेश शुल्क लाग्नेछ ।
कार्यक्रमका लागि उकमर्स, जेटप्याक, गोड्याडी, हब्स्पट, ब्लु होस्ट, ब्रोडवे इनफोसिस, रिगोरस वेब, बुटवल वेब, इन्भाइट टेक, वेब पेज नेपाल, इनेप्सटर, प्रोशोर, हाइ(स्पीड कम्प्युटर, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोवेशन, लक्ष्मी इलेक्ट्रोनिक्सलगायतका वर्डप्रेससँग विभिन्न स्वदेशी तथा विदेशी संस्थाले प्रायोजन गरेका छन् ।



