आज नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ दशरथ रंगशालाबाट गरिँदै | यस्तो छ उद्घाटन कार्यक्रम तालिका
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० आज बुधबारबाट औपचारिक रुपमा शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने्छिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् ।
‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ । उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुनेछ ।
रंगशालामा चार बजेभित्र सबै पाहुनाहरु उपस्थित हुने छन् । उनीहरुको स्वागत सेलिब्रिटीहरुबाट गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
राष्ट्रगान सकिएलगत्तै बाजा सहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाइनेछ। पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्ने्छिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्ने्छिन् ।
साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटन मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।
अन्त्यमा उद्घाटन कार्यक्रम अतिसबाजी पड्काइ ‘यो मन त मेरो नेपाली हो..’ बोलको नेपाली गीतसँगै उद्घाटन कार्यक्रम समापन गरिने जनाइएको छ । कार्यक्रम पौने ८ बजे सकिने अनुमान छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विदेशी पाहुना काठमाडौंमा
नेपाल भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौं आएका छन् । भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।
यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आएका छन् । पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार भ्रमण वर्षको उदघाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरु नेपाल आएका छन् ।
हेर्नुहोस् भ्रमण वर्ष उद्घाटन कार्यक्रम तालिका



