न्यु ईयर ईभमा ५० रुपैयाँ लिएर जानुस्, खाना र मनोरञ्जन लिनुस् |
बुटवल । बुटवलमा न्यु ईयर ईभमा ५० रुपैयाँ बोकेर गए खान र मनोरन्जन लिन पाईने ब्यवस्था गरिएको छ । होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै होटल पौवा र एबिसी न्युजले आयोजना गर्ने न्यु ईयर ईभको कार्यक्रममा दर्शकहरुले उक्त सुविधा पाउने भएका हुन् ।
नेपाल सरकारको भ्रमण वर्ष २०२० को सन्दर्भमा आयोजना गरिन थालिएको सो कार्यक्रममा दर्शकहरुले न्युनतम ५० रुपैयाँमा खाजासहित मनोरन्जन लिन पाउने ब्यवस्था गरिएको छ । पौष १५ गते होटल पौवाको बुटवल शाखामा आयोजना हुने ईभमा गायकहरु जीवन शर्मा, प्रमोद खरेल तथा लोकगायिका राधिका हमालको सांगितीक प्रस्तुती रहने आयोजक पक्षले जानकारी दिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु ज्ञवालीले सरकारको भ्रमण वर्ष सफल बनाउनु सबै नेपालीको कर्तव्य भएको बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन ईभेण्ट राखिएको समेत बताए ।
पौवाका प्रबन्धक कृष्ण गौतमले निमन्त्रणा कार्ड लिएर आउने उपभोक्ताले निशुल्क प्रवेश पाउने र ५० रुपैयाँदेखि ३०० रुपैयाँ सम्ममा पौवाको स्वाद लिन पाउने ब्यवस्था गरिएको बताए ।


