११ अर्ब डलर खर्चे गरेर चीनले बनायो संसारकै ठुलो टर्मिनल भएको विमानस्थल | एक घन्टामा ३०० जहाज टेक अफ र ल्यान्ड गर्न सक्ने
चीनले ११ अर्ब डलर खर्चेर बनाएको नयाँ विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तरराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् । यसअघि यो विमानस्थल चीनमा साम्यवादी शासन व्यवस्था लागू भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अक्टोबर १ मा उद्घाटन गर्ने बताइएको थियो ।

विमानस्थलबाट पहिलो उडान चाइना साउदर्न एयरलाइन्सले गरेको छ । एयरलाइन्सको ए३८० जहाज डाक्सिङबाट ग्वाङजाउका लागि उडेको छ ।
चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो । डाक्सिङ अन्तरराष्ट्रिय विमानस्थलमा संसारकै ठूलो एकल टर्मिनल भवन रहेको छ ।

अहिले डाक्सिङ विमानस्थलमा प्रतिघन्टा ३०० जहाजले उडान र अवतरण गर्न सक्छन् । संसारकै व्यस्त विमानस्थल हुने विश्वास गरिएको यो विमानस्थलले सन् २०४० सम्म वार्षिक १० करोड यात्रुलाई सेवा लक्ष्य राखेको छ ।
चिनियाँ नागरिक उड्ययन प्रशासनले विमानस्थलमा ६ लाखले रोजगारी पाउने अपेक्षा राखेको छ । सात वटा धावनमार्ग बनाउन सकिने विमानस्थलले सन् २०२५ सम्म वार्षिक ७ करोड यात्रुलाई सेवा दिनसक्ने चिनियाँ अधिकारीहरूको विश्वास छ ।

सेन्ट्रल बेइजिङबाट ४६ किलोमिटर दक्षिणमा अवस्थित यो विमानस्थलमा नेपालको हिमालय एयरलाइन्सले पनि उडान शुरु गर्ने तयारी गरेको छ ।
हिमालयले काठमाडौंबाट सिधा उडानका लागि प्रक्रियागत काम गरिरहेको जानकारी दिएको छ ।


