मेरो चिन्ता शेयरभन्दा अर्थतन्त्र उकास्ने हो ː अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो चिन्ता शेयर बजार उकास्ने भन्दा पनि सिङ्गो अर्थतन्त्र उकास्ने रहेको बताएका छन् ।
‘तपाईहरुलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठुलो चिन्ता लिएर हिड्नुपर्छ, सोच्नुपर्छ’ उनले भने, ‘त्यसैले तपाईहरुसँग सधै सम्वाद र छलफल गर्ने समय मसँग हुन्न । समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी बोकेर हिडिरहँदा अरु त्यसकै अंग हुन भन्ने मेरो बुझाई हो ।’
उनले ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई के के गर्नुपर्छ, त्यो आफूलाई थाहा भएको बताउँदै भने, कति लगानी गर्नुपर्छ, कति पुँजीगत खर्च गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।
उनले आफू पुँजी बजारबाट पैसा उठाउनै पर्छ भन्ने निष्कर्षमा पुगेको बताउँदै आईपीओ, एफपीओ वा दोस्रो बजारलगायत सबै ढंगले धितोपत्र बजारको भूमिका अपरिहार्य रहेको बताए ।
‘तर सेयर निष्काशन गर्दा सेयर बिकेन भने त्यसलार्ई चाँही राम्रो मान्न सकिन्न । मेरो एउटा अनुरोध छ, बजारलाई खेलौना नबनाउनुस्। खेलाउन बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफै जल्ने अवस्था आउँछ’ उनले भने ।


