जिम्मेवार व्यवसाय सम्मेलन भदौं १९ मा |
काठमाडौं । असल व्यवसायिक अभ्यास प्रवर्द्धन गर्न भदौं १९ र २० गते काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन हुने भएको छ ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले गर्ने सम्मेलनमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिका विषयमा छलफल हुनेछ । एनबीआईका अध्यक्ष पद्म ज्योतीले दोस्रो व्यवसाय सम्मेलनले व्यवसायिक क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसाय अघि बढाउनुपर्ने सचेतना आएको बताए ।
‘हामी तेस्रो सम्मेलनको पूर्व सन्ध्यामा छौं। दोस्रो सम्मेलनसँगै व्यवसायिक क्षेत्रलाई हेर्ने दृष्ट्रिकोणमा केही भएपनि परिवर्तन ल्याउन सफल भएको हाम्रो विश्वास छ’ उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने,’सरकारी क्षेत्रले हामीप्रति हेर्ने दृष्ट्रिकोणमा समेत परिवर्तन आएको छ । व्यवसायीले समेत आफ्नो व्यवसाय संचालन गर्दा उपभोक्तालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।’
ज्योतीले एनबीआईले आचारसंहिता कार्यान्वयनमा ल्याएको बताए । एनबीआईका उपाध्यक्ष कुशकुमार जोशीले असल व्यवसायिक अभ्यासमार्फत निजी क्षेत्रलाई रुपान्तरण गर्नेतर्फ लैजाने प्रयास भएको बताए ।



