चितवन मेडिकल कलेजले शुरु गर्यो कलेजो प्रत्यारोपणको ओपीडी सेवा |
काठमाडौं । राजधानी काठमाडौँ बाहिर चितवनमा पहिलो पटक कलेजो प्रत्यारोपण ओपीडी सेवा शुरु भएको छ । मेडिकल सिटिको रुपमा परिचितमा चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरले उक्त सेवा शुरु गरेको जानकारी दिएको छ ।
हेपाटाईटिस डे को अवसर पारेर चितवनको सीएमसीबाट कलेजो सम्बन्धी जटिल रोगबाट ग्रस्त बिरामीहरुको सेवामा हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा शुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले जानकारी दिए । डा.सागर पौडेलको नेतृत्वमा ५ सदस्ययी टोली सेवा दिइने उनको भनाइ छ ।
कलेजोको क्यान्सर तथा ‘लिभर सिरोसिस’ जस्ता समस्याका कारण बर्सेनी मृत्युदर बढिरहेको अवस्थामा सीएमसीले यो सेवा शुरु गरेको उनले प्रस्ट पारे । सहज रुपमा गाउँठाउँमा नै यो उपचार सेवा दिन आफुहरुले शुरु गरेको सेवा मुलुकै लागि अनुकरणीय हुने अस्पतालको विश्वास छ ।
नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ ।
तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् ।
सीएमसीले यसअघि नै कलेजो प्रत्यारोपणको स्वीकृति लिईसकेको थियो ।



