मौद्रिक नीति आज ४ बजे, सहुलियत दिएर बिग मर्जरमा लगिने |
काठमाडौं । आफ्नो अन्तिम मौद्रिक नीतिमा गभर्नर डा चिरञ्जिबी नेपालले बिग मर्जर मार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने नीति लिएका छन् ।
कार्यकाल ८ महिना बाँकी छँदा गभर्नर नेपालले बाणिज्य बैंकहरुको संख्या घट्ने गरी मौद्रिक नीति तयार पारेका छन्। गभर्नरले आज दिउँसो ४ बजे होटल र्याडिसनबाट बिग मर्जर नीति घोषणा गर्दैछन् ।
गभर्नरले लघुवित्त संस्थाहरुलाई गाभ्ने नीति पनि ल्याउँदैछन् । बिग मर्जरका लागि गभर्नरले केही आकर्षक सहुलियत प्याकेज पनि घोषणा गर्ने छन् ।
बाणिज्य–बाणिज्य बैंक मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको छ । स्रोतहरुका अनुसार प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ ।
राष्छ्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्। नरम भाषामा बिग मर्जरको बिषय उठान गरिए पनि भोलिबाटै प्रतिबद्धता ब्यक्त गरेका बैंकहरुसँग फलोअप शुरु हुने छ ।
राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी कर्जा नीति अख्तियार गर्ने छ । कर्जा बिस्तार गर्दा तरलता प्रवाह गर्न एक्सटर्नल कमर्सियल बरोइङको बाटो खुला गरिने भएको छ भने तरलता बण्ड जारी गर्न पाउने नीति पनि आउने छ ।



