समयमा वर्षा नहुँदा अहिलेसम्म २४ प्रतिशत मात्र रोपाइँ, २९ प्रतिशतले घट्योे |
काठमाडौं । यस वर्ष घान रोपाइँ घट्ने देदिएको छ । गत वर्षको तुलनामा यस वर्ष २९ प्रतिशतले धान रोपाइँ घटेको छ । गत वर्ष सातै प्रदेशमा असार २२ सम्ममा ५२ दशमलब ५७ प्रतिशत धान रोपाइँ भएको थियो भने यस वर्षको सोही अवधिमा २३ दशमलब ७६ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत वर्षभन्दा यस वर्ष १० दिन ढिला वर्षा सुरूहुँदा रोपाइँ घटेको हो । कूल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
उच्च पहाडमा ३४ दशमलब ६४, मध्यपहाडमा ३१ दशमलब १५ र तराईमा २० दशमलब ६१ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशगत धान रोपाइँको अवस्थाहेर्दा सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेशमा ५१ दशमलब ४२ प्रतिशत भएको छ । त्यसैगरि सबैभन्दा कम २ नम्बर प्रदेशमा १० दशमलब २५ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
प्रदेश नम्वर १ मा १८ दशमलब ४५ प्रतिशत, ३ मा २० दशमलब ९९ प्रतिशत, गण्डकी प्रदेशमा २८ दशमलब ५३ प्रतिशत, ५ मा २९ दशमलब ५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४४ दशमलब ४१ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ ।
धान नेपालको प्रमुख खाद्यबाली हो । कुल गार्हस्थ उत्पादनमा कृषिको २७ प्रतिशत योगदान रहेको छ ।
त्यसमध्ये धानको २० प्रतिशत योगदान छ । चालू आर्थिक बर्ष २०७५∕०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्षभने मनसुन सक्रिय नभए धानको उत्पादन घट्ने विज्ञहरू बताउँछन् ।
खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्नु, खेतीयोग्य जमिन खुम्चिदै जानु, प्रविधिको प्रयोग नहुनु र समयमै किसानले मल–बिऊ नपाउनु धान उत्पादन घट्ने मूख्य कारण रहको बताइन्छ ।
Visited 1 times, 1 visit(s) today


