मर्जरले धेरै बैंकहरुको शेयर कारोबार रोकिदै, दैनिक कारोबार रकम १० करोडमा झर्नसक्ने चिन्ता |
काठमाडौं । मर्जरमा जाने बैंक तथा बित्तीय संस्थाको शेयर कारोबार कम समय मात्र रोक्न सरोकारवालाहरुले राष्ट्र बैंक समक्ष माग गरेका छन् । उनीहरुले शेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेसियो तय भएपछि मात्र छोटो अवधिका लागि शेयर कारोबार रोक्नुपर्नेमा जोड दिए ।
नेपाल स्टक एक्सजेन्जले मर्जरमा जाने बैंकहरुको स्वाप रेसियो निर्धारण भएपछि मात्र कारोवार रोक्न उपयुक्त हुने सुझाव दिएको छ ।
मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न राष्ट्र बैकले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले दुई बैक मर्जर वा एक्वीजिसनमा जाने सहमति गरेलगत्तै कारोवार रोक्ने गरेकोमा त्यो व्यावहारिक नभएको बताए । सहमति गरेलगत्तै कारोवार रोक्ने गरेकोमा त्यो व्यावहारिक नभएको बताए ।
बैक तथा वित्त कम्पनीको मर्जरमा जाने समय कति हो भन्ने किटान नहुँदा लामो समय शेयर कारोबार रोकिएर लगानीकर्ता मारमा पर्ने गरेकाले त्यसलाई स्पष्ट पार्नुपर्ने आवाज उठेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छाटेलाल रौनियारले मर्जरले लामो समय लिँदा लगानीकर्ताको अरवौ रकम बराबरको शेयर बन्धक हुने अबस्था आउँनु नहुने बताए ।
रौनियारले राष्ट्रबैंकलाई मर्जरको नाममा लगानीकर्ताको रकम एक हप्ता भन्दा लामो समय नरोक्ने वातावरण बनाउँन माग गरे । उनले छिटो र छरितो मर्जरमा जाने मोडालिटी तयार पार्न राष्ट्रबैकलाई सुझाव दिए ।
नेपाल स्टक ब्रोकर एशोसियसनका अध्यक्ष भरत रानाभाटले मर्जरका कारण लामो समय धेरै बैंकहरुको शेयर कारोबार ठप्प हुँदा पूँजीबजार प्रभावित हुने भन्दै ध्यानाकर्षण गराए ।
उनले यसरी कारोबार ठप्प हुँदा अहिले ५० करोडको हाराहारीमा हुने कारोवार १० करोड झर्ने भन्दै चिन्ता व्यक्त गरे । उनले एकीकृत कारोवार हुने भन्दा अघिल्लो दिनसम्म मर्जरमा जाने् कम्पनीहरुको कारोबार रोक्न नहुने सुझाव दिए ।
हाल शेयर बजारमा ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको र दैनिक कारोबारको ६० प्रतिशत भन्दा बढी बैंकहरुकै शेयर किनेबेचको रकम हुने गरेको छ । राष्ट्र बैंकको दबाबकारी नीतिका कारण १५ वटा भन्दा बढी बाणिज्य बैंकको शेयर कारोबार रोकिने संभावना देखिएको छ । तीन वटा बाणिज्य बैंकको कारोबार त अहिले नै रोकिईसकेको छ ।




