एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा |
काठमाडौं । एनआईसी एशिया बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आफ्नो क्रमशː ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमज्यूले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ । त्यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैː टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।




