न्यूरोडमा स्मार्ट पार्किङ यसै साताबाट |
काठमाडौं । बिहीबारदेखि न्यूरोडमा स्मार्ट पार्किङ सञ्चालनमा आउन लागेको छ। काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउन लागेको हो ।
रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको गरी पाँच स्थानमा स्मार्ट पार्किङ शुरू गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ ।
कर्मचारी प्रशिक्षणलगायतका काम सकिसकेकोले यही बिहीबारदेखि स्मार्ट पार्किङ शुरू हुने ह्विल्स टुलीले बताएको छ । १ साता पार्किङ नि ːशुल्क गरिने छ । यो कार्यक्रम लागू भएपछि मोबाइल एपबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ । ठाउँ खाली भए बुक पनि गर्न सकिने छ ।
पार्किङ बुक गर्न त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ । पार्किङ बुकिङ १५ मिनेट अगाडि मात्र गर्न सकिनेछ । त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्कृन राखिएको हुन्छ । रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् ।
पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० रुपैयाँ तिर्नुपर्नेगरी शुल्क निर्धारण गरिएको छ । पार्किङलाई मर्यादित र व्यवस्थित बनाउन ५५ जना पार्किङ अटेण्डेन्ड खटाइने छ ।
यो सेवा लिन मोबाइलमा ‘पार्क केटीएम’ नामक एप डाउनलोड गर्नुपर्नेछ । यो एप एन्ड्रोइड प्रयोगकर्ताको लागि प्ले स्टोरमा उपलब्ध छ भने एप्पल एप स्टोरमा पनि छिट्टै राखिने जानकारी दिए ।
वैशाखदेखि स्मार्ट पार्किङ शुरु गरिने भनिए पनि प्राविधिक काम पुरा नहुँदा ढिलाई भएको ह्विल्स टुलीले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


