मिनिसोको नयाँ आउटलेट कुरिनटारमा खुल्यो, ग्लोबल आउटलेटमा नेपाली उत्पादन |
काठमाडौं । विश्वबजारमै एग्रेसिभ बजार विस्तार गरिरहेको मिनिसोले नेपालमा पनि १४ वटा आउटलेट खोलेको छ । मिनिसोले चितवनको कुरिनटारमा रहेको मनकामना केवलकारको वटम स्टेशनमा आउटलेट खोलेको हो ।
नयाँ आउटलेटको नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, मनकामना केवलकारका निर्देशक राजेशबाबु श्रेष्ठ, मिनिसोका आवासीय प्रवन्धक विल्सन जेन र पूर्व मिस नेपाल इन्टरनेशनल शुभेक्षा खड्काले उद्घाटन गरे । अढाई वर्षअघि काठमाडौंको दरबारमार्गमा पहिलो आउटलेट खोलेर औपचारिक रुपमा नेपाल प्रवेश गरेको मिनिसोले काठमाडौंभित्र र वाहिर आउटलेट विस्तारलाई तीव्रता दिएको छ ।

मिनिसोले सौन्दर्य सम्वन्धी सामाग्री, स्टेशनरी, खेलौना, चप्पल, भाडाकुँडा, छाता, डिजिटल प्रडक्ट, चश्मा लगायतका सामान उत्पादन गर्छ । जापानी डिजाइन र चीनमा उत्पादन हुने मिनिसोका सामान हेर्दा राम्रो भएकाले उपभोक्ताको रोजाईमा पर्न सफल भएको छ । सन् २०११मा स्थापना भएको यो कम्पनीले विश्वका ८६ भन्दा बढी देशमा शाखा स्थापना गरिसकेको छ ।
सन् २०१३ देखि चीनमा औपचारिक रुपमा प्रवेश गरेको मिनिसोले पाँच वर्षको अवधिमा विश्वभर ३५ सय स्टोर खोलिसकेको छ । मिनिसोको वार्षिक कारोबार साढे २ अर्ब डलर पुगेको छ । मिनिसोले ८० प्रतिशत भन्दा बढी डिजाइन जापान, कोरिया, स्वीडेन, डेनमार्क, सिंगापुर, मलेसिया र चीनबाट गर्छ ।
सन् २०१६को अक्टोबरमा काठमाडौंको दरबारमार्गमा पहिलो आउटलेट खोलेको मिनिसोको १४ वटा आउटलेट पुगिसकेको छ । मिनिसो नेपालका फ्रेन्जाइजी उद्योगी आनन्द रुंगटाले लिएका छन् ।
नेपालमा आएको अढाई वर्षमै मिनिसोको वार्षिक कारोबार ५० करोड भन्दा माथि पुगिसकेको छ । मिनिसो नेपालका प्रवन्ध निर्देशक आशाराम तण्डुकारले सस्तो र गुणस्तरीय भएका कारण नेपाली उपभोक्तामाझ मिनिसोका उत्पादन रोजाईमा परेको बताए । ‘अढाई वर्षको अवधिमै मिनिसो नेपालमा लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । त्यही भएर १४ वटा आउटलेट समेत खुलिसकेको छ ।’ उनले भने ।
मिनिसोले नेपाली उत्पादन समेत आफ्ना आउटलेटमा राख्ने भएको छ। कम्पनीकी फ्रेन्जाइज विभाग प्रमुख रज्जु तण्डुकारले नेपाली उत्पादन राख्ने बारेमा मिनिसोसँग छलफल भइरहेको र अध्ययन समेत सुरु भएको बताए ।



