हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच सहकार्य, कार्डबाहक लाई छुट |
काठमाडौं । पर्यटन प्रवद्र्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल २०१९’ अभियान शुरु भएको छ । अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न, यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति दिलाउने अभियानको मुख्य उद्देश्य रहेको छ ।
सहकार्य अन्तरगत अभियान अवधिभर नेपाल घुम्न आउने कार्डबाहक पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरु होटल, रेष्टुराँ, साहासिक खेल पर्यटन, स्थानीय कलाकृति खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन् ।
२०२० जुन सम्म चल्ने अभियानमा बोर्ड र एक्स्प्रेसले विभिन्न देशहरुमा नेपालको बारेमा प्रचार, प्रसार गर्ने भएको छ । साथै बैंकले समेत आफ्नो वेवसाईटलगायत सामाजिक संजालमा प्रचार प्रसार गरिने छ । एक्स्प्रेसका दिव्या जैनले नेपाल पर्यटन बोर्ड र बैंकसँगको सहकार्यमा अभियान संचालनले पर्यटन प्रवद्र्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन मिल्ने बताएकी छिन ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले उक्त सहकार्यमार्फत भ्रमण बर्ष २०२० अन्तर्गतनै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताएका छन् । सोहि अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नेपाल, विदेशी पर्यटक माझ प्रवद्र्धन हुने र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने दाबी गरेका छन् ।



