प्रधानमन्त्रीले गरे यसैपाला बृद्धभत्ता बढाउने घोषणा |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।
यो बुढाबुढीको भलो चिताउने सरकार हो भन्दै प्रधानमन्त्री ओलीले भने ‘यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ, ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण शुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए ।
सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको भन्दै प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताए । प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरे । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका थिए ।



