एनबीआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता |
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट (एनबीआर्ई) र मुक्तिनाथ विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच वित्तिय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा एनबीआईका सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराइने छ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने बैंकले जानकारी दिएको छ ।
साथै बैंकले एनबीआई एपमार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । आवश्यक भएमा एनबीआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।

